संरचनात्मक स्वरुप

प्रकाशित मिति : 2022-03-24 02:32:36

सत्य निरुपण तथा मेलमिलाप आयोगमा कम्तिमा एक जना महिला रहने गरी अध्यक्षसहित पाँच जना सदस्यहरु नियुक्त हुने कानूनी व्यवस्था रहेको छ । आयोगको अध्यक्ष तथा सदस्यको नियुक्तिको लागि सिफारिस गर्न पूर्व प्रधानन्यायाधीशहरु मध्येबाट नेपाल सरकारले तोकेको व्यक्तिको अध्यक्षतामा राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य र मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानूनविद्‍, विधिविज्ञानवेत्ता, द्वन्द्वविद्, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रकृयामा संलग्न व्यक्तिहरुमध्येबाट नेपाल सरकारले  मनोनित गरेको कम्तिमा 1 जना महिलासहित जम्मा 5 जना रहेको सिफारिस समिति गठन हुने र सो समितिको सिफारिसका आधारमा नेपाल सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यहरु नियुक्ति गर्ने कानूनी प्रावधान रहेको छ । आयोगका अध्यक्ष तथा सदस्यको पारिश्रमिक क्रमशः राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्य सरह हुने र सेवाका सर्त र अन्य सुविधा नेपाल सरकारले तोके वमोजिम हुने पनि कानूनी व्यवस्था रहेको छ ।

यसको अतिरिक्त आयोगमा रहने कर्मचारीको सम्बन्धमा नेपाल न्याय सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीका सचिवको नेतृत्वमा आयोगको कार्यप्रकृति अनुसार निजामती सेवा अन्तरगत विभिन्न सेवा र समूहका कर्मचारीहरुको आवधिक रुपमा स्वीकृत अस्थायी दरवन्दीमा तत् सेवा, समहू र श्रेणीका कर्मचारी आयोगको माग अनुसार नेपाल सरकारले खटाई पठाइदिने कानूनी व्यवस्था अनुरुप हाल (चालु आ.व.का लागि) आयोगको स्वीकृत दरवन्दी संख्या जम्मा 96 रहेको छ र यसमध्ये 60 जना कर्मचारीहरु कार्यरत रहेका छन् ।